
काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ। यससँगै हालसम्म चार जनाको शव उद्धार गरिएको छ भने आठ जना अझै बेपत्ता छन्।
गत भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपालीमध्ये १० जना आइतबार साँझ सकुशल फु गाउँमा पुगेका थिए। बाँकी १२ जना भने सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीनमध्ये यसअघि दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएको थियो। सोमबार बिहान कैलाश हेलिकप्टरमार्फत ती शव काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ का ५२ वर्षीय छेबि भोटे र सोही गाउँपालिका–२ का ३१ वर्षीय पासाङ भोटे रहेका छन्।
यसैबीच, सोमबार बिहान ११ बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे ल्याइएको छ। ती शवको पहिचान भने हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार हिम्लुङ बेस क्याम्प कार्यालयबाट पैदल करिब तीन दिन उत्तरतर्फ पर्छ। घटनामा बेपत्ता भएका बाँकी व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।











