काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा भएका सरकारी कामकारबाही तथा प्रगति सार्वजनिक गरेको छ। कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न सार्वजनिक निकायमा ६११ जनाको नियुक्ति भएको जानकारी दिनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा उहाँले अध्यादेश जारी भएयता ८० वटा निकायमा ४१९ जनाको नियुक्ति तथा पदपूर्ति भएको बताउनुभयो। त्यस्तै, मन्त्रिपरिषद्बाट १४ जना र विश्वविद्यालय, आयोग तथा प्रतिष्ठानमा १७८ जनाको नियुक्ति भएको जानकारी दिनुभयो।
यस अवधिमा राष्ट्रिय सतर्कता केन्द्रले बजारमा हुन सक्ने कालोबजारी, मूल्यवृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रणका लागि चारवटा अनुगमन टोली परिचालन गरेको छ। असोज २१ देखि २९ गतेसम्म उपत्यका र मधेस प्रदेशका ४३ कार्यालयमा गरिएको अनुगमनका क्रममा समय पालना नगर्ने ६८९ र तोकिएको पोसाक नलगाउने २५ गरी ७१४ कर्मचारीमाथि नियमानुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
त्यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्णयअनुसार पाँचवटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखिएको छ। विभिन्न सरकारी निकायमा सार्वजनिक खरिदसम्बन्धी कामको अनुगमनसमेत गरिएको छ।
कार्यालयका अनुसार असोज २५ देखि २९ गतेसम्म हेलो सरकारमा ७८२ वटा गुनासा प्राप्त भएका छन्। यस अवधिमा ९०२ वटा गुनासा फर्छ्योट गरिएको र एक हजार नौवटा गुनासा समाधान गरिएको विवरण सार्वजनिक गरिएको छ।
सरकारले नीति तथा कार्यक्रम कार्यान्वयन, तालिम तथा क्षमता विकास, तथ्याङ्क व्यवस्थापन र सरकारी सफ्टवेयर प्रणालीको विकास तथा स्तरोन्नतिसम्बन्धी काम पनि अघि बढाएको जनाएको छ।












