काठमाडौं :- भोटेकोशी नदीमा आएको बाढीमा परी रसुवा भन्सार कार्यालयका १४ कर्मचारी अझै बेपत्ता छन्। बाढीमा परेका १५ कर्मचारीमध्ये भन्सार अधिकृत नकुल शर्माको शव फेला परेर अन्तिम संस्कार गरिएको छ।
बेपत्ता तथा दिवंगत कर्मचारीका परिवारसँग बिहीबार अर्थ मन्त्रालयमा भेट गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पीडित परिवारलाई मन्त्रालय र भन्सार प्रशासनको निरन्तर साथ रहने बताउनुभयो।
उहाँले परिवारका सदस्यहरूले भोगिरहेको पीडा आफूले पूर्ण रूपमा व्यक्त गर्न नसक्ने भन्दै उनीहरूलाई आफूहरू एक्लो नरहेको विश्वास दिलाउनुभयो।
मन्त्री वाग्लेले परिवारको शिक्षा, भरणपोषण र रोजगारीका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै कानुनबमोजिम पूरा गर्न सकिने माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। कानुन संशोधन आवश्यक पर्ने विषयमा अन्य मन्त्रालयसँग समन्वय गरिने उहाँको भनाइ थियो।
परिवारका सदस्यहरूले आफ्ना मागसहितको प्राथमिक तहको मागपत्र अर्थमन्त्रीसमक्ष बुझाएका थिए। घटना दर्ता, बालबालिकाका लागि छात्रवृत्तिलगायतका विषयमा पनि मन्त्रालयले काम गरिरहेको मन्त्री वाग्लेले जानकारी दिनुभयो।
बेपत्ता कर्मचारीको खोजी जारी रहेको जनाउँदै उहाँले पीडित परिवारलाई आवश्यक सहजीकरणका लागि विशेष कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ।












