काठमाडौं :- काठमाडौं। नेपाली मौलिक परिकार, रैथाने स्वाद र आतिथ्य संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रेसिडेन्ट बिजनेस ग्रुपले भोलिदेखि तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ।
असोज २५ देखि २९ गतेसम्म पाँच दिन सञ्चालन हुने फेस्टिभल काठमाडौंका सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्टका विभिन्न आउटलेटमा आयोजना हुनेछ। साथै, लुम्बिनी प्रदेशको भैरहवामा हुने फुड फेस्टिभलमा पनि प्रेसिडेन्टको पक्कु परिकार प्रस्तुत गरिनेछ।
नेपाली पाककलाको मौलिक पहिचान बोकेको पक्कुलाई नयाँ पुस्ता तथा स्वदेशी र विदेशी पाहुनामाझ परिचित गराउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ ग्रुपले लगातार तेस्रो वर्ष फेस्टिभल आयोजना गर्न लागेको हो। परम्परागत स्वाद र पाकविधिको संरक्षण गर्दै पक्कुलाई नेपाली संस्कृति र आतिथ्यताको विशिष्ट पहिचानका रूपमा स्थापित गर्नु यसको मुख्य उद्देश्य रहेको ग्रुपले जनाएको छ।
ग्रुपका अध्यक्ष टीआर भण्डारी शंकरका अनुसार अघिल्ला संस्करणबाट प्राप्त अनुभव, ग्राहकका सुझाव र नेपाली मौलिक खानाप्रति बढ्दो आकर्षणले यस वर्षको फेस्टिभललाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। उनका अनुसार यो फेस्टिभल खानाको उत्सवमा मात्र सीमित नभई परम्परागत परिकारको पहिचान स्थापित गर्ने, मौलिकता जोगाउने र नयाँ पुस्तामा परम्परागत पाककलाको ज्ञान हस्तान्तरण गर्ने दीर्घकालीन अभियानसमेत हो।
ग्रुपले नेपाली खानाको पहिचान, प्रस्तुति र ब्रान्डिङमार्फत पर्यटन प्रवर्द्धनसँगै स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता र रोजगारी सिर्जनामा योगदान पुग्ने विश्वास लिएको छ। पक्कुको व्यावसायिक प्रवर्द्धनबाट कृषक, पशुपालक, स्थानीय आपूर्तिकर्ता तथा आतिथ्य क्षेत्रमा कार्यरत जनशक्तिका लागि थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
होटल तथा रेस्टुरेन्ट क्षेत्रमा दुई दशकदेखि सक्रिय प्रेसिडेन्ट बिजनेस ग्रुपले गुणस्तरीय खाना, स्वच्छता, सेवा र आतिथ्यतालाई प्राथमिकतामा राख्दै आएको छ। ग्रुपअन्तर्गत हाल ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
व्यावसायिक सञ्जाल विस्तार गर्ने क्रममा ग्रुपले रुपन्देहीको बुटवल र काठमाडौंको बुढानीलकण्ठमा नयाँ आउटलेट सञ्चालन गर्ने तयारीसमेत गरेको छ। यसबाट सेवा विस्तारसँगै थप रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
पक्कुलाई निश्चित अवधिको फेस्टिभलमा मात्र सीमित नराखी दीर्घकालीन ब्रान्डिङ र बजार विस्तारको अभियानका रूपमा अघि बढाउने ग्रुपको लक्ष्य छ। नेपाली मौलिक परिकारलाई आधुनिक प्रस्तुति, गुणस्तरीय सेवा र व्यावसायिक मापदण्डसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यसहित फेस्टिभललाई निरन्तरता दिइने ग्रुपले जनाएको छ।
‘स्थानीय स्वादलाई राष्ट्रिय पहिचान र राष्ट्रिय स्वादलाई विश्व बजारसम्म’ पुर्याउने लक्ष्यसहित आयोजना हुन लागेको फेस्टिभलले नेपाली मौलिक खानाको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।












