काठमाडौँ :- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु न्यायसहित राष्ट्रिय हितका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेको जानकारी दिनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा महासभामा नेपालको सहभागिताबारे जानकारी दिँदै उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले ‘जनरल डिबेट’मा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर र जलवायु न्यायको आवश्यकताबारे धारणा राख्नुभएको बताउनुभयो।
मन्त्री खनालले महासभाका क्रममा नेपालले विभिन्न मुलुकका उच्च अधिकारी तथा समकक्षीसँग भेटवार्ता र छलफल गरेको तथा विभिन्न सत्रमा सहभागी भएर जलवायु परिवर्तन, दिगो विकास र अन्तर्राष्ट्रिय सहकार्यलगायत विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गरेको जानकारी दिनुभयो।












