काठमाडौं :- आकर्षक तलबमा साइप्रस पठाइदिने प्रलोभन देखाएर ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा ३७ वर्षीय सरोज मल्ल पक्राउ परेका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका–३ निवासी मल्लले एक जना पीडितबाट साइप्रस पठाउने भन्दै ९ लाख ५० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ। रकम लिएपछि उनी सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मल्ललाई चाँगुनारायण नगरपालिका–३ बाट पक्राउ गरेको हो।
मल्ललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।












