काठमाडौं :- चीनले इन्जिनियर, स्टार्टअप संस्थापक तथा अन्य दक्ष विशेषज्ञलाई ‘औद्योगिक तथा प्राविधिक सुरक्षा’का लागि जोखिम देखिएमा विदेश जानबाट रोक्न सकिने गरी नयाँ नियम लागू गरेको छ।
विशेषगरी ब्याट्री, दुर्लभ खनिज र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा कार्यरत विशेषज्ञमाथि यस्तो प्रतिबन्ध लगाउन सकिने व्यवस्था गरिएको छ। पछिल्लो समय चीनले विदेशमा लगानी, सम्पत्ति राख्ने तथा प्रविधि क्षेत्रका कर्मचारीको विदेश यात्रासम्बन्धी नियमसमेत कडा बनाउँदै आएको छ।
विश्लेषकहरूले यी कदमलाई चीनबाट दक्ष जनशक्ति र पुँजी बाहिरिने विषयप्रति सरकारको बढ्दो चिन्तासँग जोडेर हेरेका छन्। यद्यपि उच्च प्रविधिका वस्तुको निर्यात माग बलियो रहे पनि घरजग्गा बजारमा आएको गिरावट, कमजोर घरेलु खपत तथा कर्जाप्रवाहमा आएको कमीले चिनियाँ अर्थतन्त्रमाथि दबाब बढाएको बताइएको छ।
यसको पछिल्लो उदाहरण एआई स्टार्टअप ‘मानुस’लाई लिइएको छ। बेइजिङमा स्थापना भएको उक्त कम्पनीले गत वर्ष आफ्नो मुख्यालय सिंगापुर सारेको थियो। कम्पनीका संस्थापकलाई विदेश जान रोक लगाइएको र मेटाले करिब २ अर्ब अमेरिकी डलरमा कम्पनी खरिद गर्ने प्रयास गरेपछि बेइजिङले सम्झौतामा रोक लगाएको विवरणमा उल्लेख छ।












