काठमाडौं :- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ। अत्यधिक वर्षाका कारण केही क्षेत्रमा अधिवेशनको मिति परिवर्तन गरिए पनि अधिकांश स्थानमा पूर्वनिर्धारित तालिकाअनुसार अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
पछिल्ला दिनमा भएको भारी वर्षा र सडक अवरोधलाई मध्यनजर गर्दै निर्वाचन समितिले असोज १३ गतेभित्र अनुकूलताअनुसार अधिवेशन सम्पन्न गर्न सकिने विकल्प दिएको थियो। त्यसअनुसार पहाडी जिल्लाका केही निर्वाचन क्षेत्रमा आइतबार र सोमबार अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो।
मौसममा सुधार देखिन थालेकाले अधिकांश स्थानमा आजै तथा बाँकी क्षेत्रमा सोमबार र मंगलबारसम्म अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ। क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन्।
हरेक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको छ। त्यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट १२ जना महासमिति सदस्य चयन हुनेछन्।
प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गरिनेछ। प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक–एक जना तथा सहसचिवमा एक महिलासहित दुई जना निर्वाचित हुने व्यवस्था छ।
कांग्रेसको अधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ। क्षेत्रीय अधिवेशनपछि केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ। कांग्रेसले केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्ने तयारी गरिरहेको जनाएको छ।












