
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माण तथा रसुवागढी–केरुङ नाका पुनः सञ्चालनका लागि चीन सरकारसँग सहयोग र समन्वय गर्न आग्रह गरेका छन्।
सिंहदरबारमा आज नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भएको शिष्टाचार भेटमा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको पुनर्निर्माणसँगै व्यापारिक नाका सञ्चालनका विषयमा छलफल गरेका हुन्।
मन्त्री लम्सालले भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको जानकारी दिँदै तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात सञ्चालनको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताए।
उनले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको बताए।
उनले करिब छ लाख नेपाली नागरिकको सहज आवतजावत र राज्यसँगको सम्पर्क सुनिश्चित गर्न कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनमा समेत चीन सरकारबाट आवश्यक समन्वयका लागि आग्रह गरे।
दीर्घकालीन रूपमा काठमाडौँदेखि रसुवागढी हुँदै केरुङ नाकासम्मको सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तथा आवश्यक स्थानमा ट्र्याक खोल्ने काम अघि बढिरहेको मन्त्री लम्सालले जानकारी दिए।
भेटमा चिनियाँ राजदूत वाङ माओमिङले चीन नेपालका असल मित्र तथा छिमेकीका रूपमा आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माणमा जोड दिए।
राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको बताउँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएको मन्त्री लम्सालको सचिवालयले जनाएको छ।











