काठमाडौँ :- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको डिजिटल रूपान्तरणलाई प्रविधि विस्तार, सरकारी सेवा आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।
ललितपुरमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ’मा बोल्दै मन्त्री तिमिल्सिनाले नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली निर्माणमा सरकारले जोड दिएको बताए।
हालैको भोटेकोशी बाढीले भौतिक पूर्वाधारसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय तयारीको समेत परीक्षण गरेको उनको भनाइ थियो।
उनले विपद्का बेला सूचना पूर्वाधार अत्यन्त महत्वपूर्ण हुने, सञ्चार यातायातजत्तिकै आवश्यक पर्ने र विश्वसनीय तथ्याङ्क प्रभावकारी निर्णय प्रक्रियाको आधार बन्ने बताए। साथै, सार्वजनिक विश्वास पनि प्रविधिको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिएको उनले उल्लेख गरे।












