काठमाडौँ :- प्रतिनिधिसभाले संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण र दिगो उपयोगसम्बन्धी सम्झौता सर्वसम्मतिले अनुमोदन गरेको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस गरेकी थिइन्। सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सम्झौता कार्यान्वयनका लागि आवश्यक कानुन समयमै बनाउने प्रतिबद्धता जनाइन्।
मन्त्री गौतमले प्राकृतिक विपत्तिलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने बताइन्। उनले आदिवासी जनजातिका मौलिक विषयलाई समेत विधेयकमा समेट्ने गरी सरकार अघि बढ्ने उल्लेख गरिन्।












