सुनसरी :- सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ।
शनिबार साँझ देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा गोली लागेर घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आइतबार शल्यक्रिया गरी गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यादवको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको थियो। उनी हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि गोली प्रहारबाट घाइते भएका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवानगन्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवादबाट उत्पन्न रिसइबीका कारण घटना भएको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।












