काठमाडौँ :- परराष्ट्रमन्त्री शिशिर खनालले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथका मुलुकहरूको प्रभावकारी सहभागिता आवश्यक रहेको बताएका छन्।
न्युयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरको आयोजनामा भएको उच्चस्तरीय मन्त्रीस्तरीय बैठकमा बोल्दै खनालले विकासशील देशहरू अरूले बनाएका कार्यसूची कार्यान्वयनमा मात्र सीमित हुन नहुने बताए।
आफ्नै भविष्य निर्धारण गर्ने नियम, संस्था र नीतिनिर्माणमा विकासशील मुलुकहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। उनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय वित्तीय संस्थाको संरचनामा समयानुकूल सुधार गर्नुपर्ने धारणा पनि राखे।












