काठमाडौँ :- रास्वपा सभापति रवि लामिछानेले जलवायु संकटबाट सिर्जित विपत्तिको सामना गर्न नेपालले आन्तरिक राजनीतिक विभाजन भुलेर विश्व समुदायसमक्ष एकढिक्का भएर जलवायु न्यायको माग गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भोटेकोशी विपत्तिले नेपालीलाई एक ठाउँमा ल्याएको उल्लेख गर्दै यही एकताको भावनाबाट देशले आगामी दिनको बाटो तय गर्नुपर्ने बताए।
सरकार उद्धार तथा खोजीमा निरन्तर खटिरहेको भए पनि आफन्त गुमाएका नागरिकले राज्यप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्नु स्वाभाविक भएको उनको भनाइ थियो। पीडित नागरिकमाथि सामाजिक सञ्जालमा गरिने अवाञ्छित टिप्पणीप्रति उनले आपत्ति जनाए।
रास्वपाका कार्यकर्ता त्यस्तो कार्यमा संलग्न रहेको पाइए कारबाही गरिने बताउँदै उनले कानुनविपरीत गतिविधि गर्ने सबैमाथि राज्यले आवश्यक कदम चाल्नुपर्ने माग गरे।
विपद् व्यवस्थापनमा प्रतिपक्षबाट आउने सकारात्मक र रचनात्मक सुझावलाई सरकारले आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै उनले विपद्को संवेदनशील अवस्थालाई राजनीतिक विवादको विषय नबनाउन सबैलाई आग्रह गरे।
जलवायु परिवर्तनका कारण पीडित बनेका नागरिक यस संकटका कारक नभएको भन्दै लामिछानेले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेर मात्र नपुग्ने र जलवायु न्यायका लागि विश्वसँग दृढतापूर्वक आवाज उठाउनुपर्ने बताए।












