काठमाडौँ :- प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माण गर्न सबै तहका सरकार र सरोकारवाला निकायको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।
२०औँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले मानव बेचबिखनलाई विश्वव्यापी रूपमा फैलिएको गम्भीर सङ्गठित अपराधका रूपमा उल्लेख गरे।
उनले प्रविधिको तीव्र विकाससँगै बेचबिखन तथा ओसारपसारको प्रवृत्ति र स्वरूपमा परिवर्तन आएको भन्दै यसविरुद्ध प्रविधिको सही प्रयोग र नागरिकमा सजगता बढाउनुपर्ने बताए।
सरकारले मानव बेचबिखनविरुद्ध नीति जारी गरी कार्यान्वयनमा ल्याएको तथा विद्यमान कानुनी र संस्थागत संयन्त्रलाई सङ्घीय संरचनाअनुकूल बनाउँदै लगेको पनि उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले मानव बेचबिखनविरुद्धको अभियानमा सहयोग गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, विकास साझेदार र अन्य सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन्।












