काठमाडौं :- भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न नेकपाका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जाने तयारी गरेका छन्।
पार्टीको केन्द्रीय संयोजन समितिको आइतबार बसेको बैठकमा बाढी प्रभावित क्षेत्रमा पार्टी नेतृत्वको प्रत्यक्ष उपस्थिति आवश्यक रहेको विषय उठेपछि दुवै नेता फिल्डमा जाने तयारीमा जुटेका हुन्।
भदौ १० गते आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी आसपासका क्षेत्रमा ठूलो क्षति गरेको थियो। त्यसपछि नेकपाले आकस्मिक बैठक गर्दै खोज, उद्धार र राहत कार्यमा पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको थियो।
बागमती प्रदेशमा डा. गङ्गालाल तुलाधरको संयोजकत्वमा खोज तथा उद्धार समन्वय समिति गठन गरिएको थियो। संगठन विभाग प्रमुख वर्षमान पुन, नन्दकिशोर पुन ‘पासाङ’लगायत नेता बाढी आएको दिन नै नुवाकोट पुगेका थिए भने अन्य नेताहरूले पनि त्यसपछि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए।
बैठकमा प्रभावित क्षेत्रमा पुगेर पीडितका समस्या र आवश्यकताबारे जानकारी लिइसकेकाले अब पार्टीका संयोजक र सहसंयोजक स्वयं फिल्डमा पुग्नुपर्ने सुझाव दिइएको नेता गङ्गाले बताए।
उनका अनुसार अन्य राजनीतिक दलका शीर्ष नेतृत्व तथा सरकारका प्रतिनिधिहरू प्रभावित क्षेत्रमा पुगिसकेकाले नेकपाको नेतृत्वको पनि प्रत्यक्ष उपस्थिति आवश्यक देखिएको हो।












