काठमाडौँ :- कोशी नदीको कटानबाट जोखिममा परेको बराहक्षेत्र संरक्षणका लागि सरकारले नदी नियन्त्रणको काम अघि बढाउने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बराहक्षेत्र पुगेर स्थानीयवासी तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गर्दै धाम संरक्षणका लागि विस्तृत प्राविधिक अध्ययन गरिने बताउनुभयो।
मन्त्री श्रेष्ठले मन्दिर व्यवस्थापन समितिले तयार गरेको अध्ययनलाई मन्त्रालयका विज्ञ तथा प्राविधिक टोलीबाट परीक्षण गराई आवश्यकताअनुसार तत्काल काम सुरु गर्ने बताउनुभयो। थप अध्ययन आवश्यक भए त्यसलाई समेत छिटो सम्पन्न गरी तटबन्ध तथा नदी नियन्त्रणका संरचना निर्माण गरिने उहाँको भनाइ छ।
प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठले कोशी कटान र बाढीबाट बराहधाम तथा चतरा क्षेत्रमा हुँदै आएको क्षति रोक्न नदी नियन्त्रणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।












