काठमाडौँ । बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गरेको छ।
जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा चीनबाट उच्च दक्ष प्राविधिक विज्ञ टोलीसमेत परिचालन गरिएको हो।
सरकारको अनुमतिपछि ६ सदस्यीय चिनियाँ विज्ञ टोली उद्धारका लागि घटनास्थलमा खटिएको छ। चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै उद्धार प्रक्रिया अघि बढाउनेछ।
संयुक्त टोलीले सुरुङभित्रको अवस्था, जोखिम र उद्धारको सम्भावनाबारे प्राविधिक रेकी तथा अनुगमन गर्नेछ। प्रारम्भिक अध्ययनबाट उद्धार सम्भव हुने देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा बोलाइने तयारी छ।
सुरुङभित्रको अवस्था चुनौतीपूर्ण र जोखिमपूर्ण रहे पनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ प्राविधिक विज्ञ टोलीको संयुक्त प्रयासमा फसेका श्रमिकलाई सकुशल उद्धार गर्न निरन्तर प्रयास भइरहेको छ।












