काठमाडौँ :- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट प्रभावित जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको छ।
शुक्रबार दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार नवलपरासी पूर्वमा १३४, चितवनमा १२१, गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव भेटिएको छ। गोरखामा भेटिएका शवमा विभिन्न मानव अङ्गसमेत समावेश छन्।
बाढीपछि ९७७ जना सम्पर्कविहीन रहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्। सम्पर्कविहीनमध्ये ५१७ विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ नेपाली छन्। यस्तै विभिन्न सुरक्षा निकाय तथा सरकारी कार्यालयका कर्मचारी र रसुवा, नुवाकोट तथा मकवानपुरका नागरिकसमेत सम्पर्कविहीन छन्।
बाढीबाट ७३ जना घाइते भएका छन्।












