काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमले आफ्नै ग्यास उद्योग स्थापना गर्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ग्यास उद्योगीहरूलाई आपूर्ति सहज बनाउन पटक–पटक आग्रह गरिए पनि त्यसअनुसार सहयोग हुन नसकेको बताइन्।
नेपालमा ५८ वटा ग्यास उद्योग सञ्चालनमा रहे पनि कुनै पनि निगमको मातहतमा नरहेको उल्लेख गर्दै मन्त्री कुमारीले आपूर्ति व्यवस्थालाई राज्यको नियन्त्रणमा समेत राख्न निगमले एउटा उद्योग सञ्चालन गर्नुपर्ने धारणा राखिन्।
उनले काठमाडौंमा ग्यासको मागअनुसार आपूर्ति हुन नसकेको बताउँदै पठाइएको सिलिन्डरको वास्तविक वितरणबारे समेत प्रश्न उठाइन्। देशलाई अत्यावश्यक वस्तुमा आत्मनिर्भर बनाउन तेल, ग्यास, कपडा, खाद्यान्न र चिनीलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
ग्यास उद्योगसँग सम्बन्धित कानुन संशोधनमा कर्मचारीतन्त्रबाट अपेक्षित सहयोग नपाएको भन्दै उनले उद्योगमैत्री कानुनी वातावरण बनाउनुपर्ने बताइन्। स्वदेशमा उद्योग स्थापना गर्न कच्चा पदार्थको भन्सारलगायत विषयमा नीतिगत सुधार आवश्यक रहेको उनले उल्लेख गरिन्।
चाडपर्वको समयमा आपूर्ति सहज बनाउन बजार अनुगमनलाई तीव्र बनाइएको र कालोबजारी तथा मूल्यवृद्धिविरुद्ध कारबाही अघि बढाइएको उनले जानकारी दिइन्।
चिनीको अभाव हुन नदिन २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार महसुलमा आयात गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको पनि उनले बताइन्।
समिति सभापति रहबर अन्सारीले भने चिनीको मूल्यवृद्धिप्रति चासो व्यक्त गर्दै समयमै पर्याप्त चिनी आयात गर्न नसक्दा अहिले समस्या देखिएको बताइन्। उनले कार्टेलिङ, कालोबजारी तथा उपभोक्ता हितका विषयमा आवश्यक कानुन बनाउन मन्त्रालयलाई सुझाव दिइन्।












