काठमाडौँ :- कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरेर तीन दिनमा ८७ हजार ८७७ वटा एलपी ग्यास सिलिण्डर काठमाडौं ल्याइएको छ।
नेपाल आयल निगमका अनुसार विभिन्न १८ कम्पनीले तराईका सात जिल्लामा रहेका उद्योगबाट ग्यास रिफिल गरी उपत्यकामा आपूर्ति गरेका हुन्।
भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिण्डर काठमाडौं ल्याइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति निरन्तर राखिएको निगमले जनाएको छ।












