काठमाडौं :- फ्ल्यास फ्लडबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउन एमएडब्लु ग्रुपले १ करोड ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
देशका विभिन्न जिल्लामा आएको बाढीका कारण ठूलो क्षति भएपछि प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेको हो। रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनलगायत जिल्लाका विभिन्न समुदाय फ्ल्यास फ्लडबाट प्रभावित भएका छन्।
एमएडब्लु ग्रुपले देश पुनःस्थापना र पुनर्निर्माणको चरणमा अघि बढिरहेका बेला नेपाली जनताप्रति आफ्नो ऐक्यबद्धता स्वरूप सहयोग गरेको जनाएको छ।
ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले संकटका बेला कम्पनीले राष्ट्र र जनताको साथमा उभिने परम्परालाई निरन्तरता दिएको बताए। उनले प्रभावित परिवारको पीडा कुनै सहयोगले पूर्ण रूपमा मेटाउन नसके पनि यसले कठिन अवस्थामा केही राहत प्रदान गर्ने विश्वास व्यक्त गरे।












