काठमाडौँ :- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी जनतासँगको सम्बन्धबाट टाढिँदा एक वर्षमै कमजोर अवस्थामा पुगेको बताएका छन्।
मधेस प्रदेश कमिटीको ‘मिसन जागरण अभियान’सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले पार्टीले जनपरिचालनभन्दा सरकारी अधिकारीको सरुवा तथा प्रशासनिक विषयमा बढी ध्यान दिएको बताए।
ज्ञवालीले पार्टीको कार्यशैली सरकारी तथा राजर्षी प्रकृतिको बन्दै गएकाले जनतासँगको दूरी बढेको स्वीकार गरे। अब पार्टीले आफ्नो कार्यशैलीमा तत्काल सुधार गर्नुपर्ने उनको भनाइ छ।
उनले फागुनको निर्वाचनमा कमजोर नतिजा आउनुमा आन्तरिक एकताको अभाव, समूह–उपसमूहको निर्माण तथा निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न नसक्नु मुख्य कारण रहेको बताए।
“गत वर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो, तर यस वर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,” ज्ञवालीले भने।












