काठमाडौँ :- रसुवा, नुवाकोटलगायत जिल्लामा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमण रद्द गरेका छन्।
मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन सर्बिया जाने तय भएको थियो।
तर, देशमा बाढीबाट गम्भीर विपद् सिर्जना भएपछि मन्त्री खनाल भ्रमणमा नजाने भएका हुन्। उनको स्थानमा संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घ संस्था महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल बेलग्रेड जानेछ।
उच्चस्तरीय स्मरण सभा सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते आयोजना हुँदैछ।












