काठमाडौँ :- भोटेकोशीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिन सडकखण्डबाट आजदेखि यातायात सुचारु भएको छ। बाढीले सडकमा थुपारेको लेदो, माटो र अन्य फोहर हटाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेले सडक खुलेसँगै लामो समयदेखि रोकिएका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिए।
बाढीका कारण सडकभरि लेदो थुप्रिँदा यातायात सञ्चालनमा समस्या भएको थियो। अहिले लेदो हटाएर सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
तर धादिङको वैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडक भने अझै एकतर्फी रूपमा मात्रै सञ्चालनमा छ। बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने कामलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।












