रसुवा :- रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएको सेफ धादिङमा तोडफोड गरी नगद चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार भदौ १० गते भोटेकोशीमा आएको बाढीले नगद राखिएको सेफ बगाएर धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा पुर्याएको थियो। सेफ भेटिएपछि स्थानीयले तोडफोड गरेर त्यसमा रहेको रकम निकालेका थिए।
घटनाबारे शुक्रबार जानकारी प्राप्त भएपछि प्रहरीले तत्काल टोली परिचालन गरी अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।












