काठमाडौँ :- नेपाली कांग्रेसले १५औँ महाधिवेशनको वडा अधिवेशनको मिति परिवर्तन गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भदौ २४ गतेदेखि गर्ने भनिएको वडा अधिवेशन असोज ३ र ४ गते गर्ने निर्णय गरिएको हो।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा उक्त दुई दिन देशभरका ६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि चयन गरिने उल्लेख छ।
त्यसपछि असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन तथा असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।












