काठमाडौँ :- कांग्रेस महामन्त्री प्रदीप पौडेलले विपद्को समयमा सरकारको उपस्थिति सामाजिक सञ्जालमा मात्रै सीमित भएको आरोप लगाएका छन्। उनले विपद् प्रभावित क्षेत्रमा उद्धार र राहतको काम अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताएका छन्।
पौडेलले सुरुङ मार्ग तथा अन्य जटिल भूभागमा फसेका नागरिकको उद्धारमा विशेष दक्षता र विशेषज्ञताको आवश्यकता हुँदाहुँदै सरकारले बाह्य विज्ञको सहयोग लिन ढिलाइ गरेको बताए। उनका अनुसार ‘सबै काम आफैं गर्छु’ भन्ने सरकारी अहंकारले उद्धार प्रक्रिया थप जटिल बनेको हो।
विज्ञलाई तत्कालै बोलाउन सकेको भए उद्धारमा भएको ढिलाइ कम गर्न सकिने उनको भनाइ छ। प्रधानमन्त्रीले पछिल्लो समय उद्धारमा कमजोरी भएको स्वीकार गर्दै विदेशी विज्ञसँग समन्वय भइरहेको बताएको प्रसंग उल्लेख गर्दै पौडेलले सरकार सुरुवाती चरणमै चुकेको दाबी गरे।












