काठमाडौं :- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम फाइदा लिनुपर्ने बताएका छन्। उनले पछिल्लो समय दुई छिमेकीबीच देखिएको संवाद र सहकार्य नेपालका लागि सकारात्मक अवसर भएको उल्लेख गरेका छन्।
ब्रिक्स प्लस शिखर सम्मेलनमा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीचको वार्तालाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै भट्टराईले नेपालले अब पुरानो शैलीको शक्ति सन्तुलनको खेलबाट बाहिरिनुपर्ने बताएका छन्।
उनले विगतमा भारत र चीनबीचको दूरीको फाइदा उठाएर क्षणिक राजनीतिक स्वार्थ पूरा गर्ने प्रवृत्तिले नेपाललाई अल्पविकास र परनिर्भरताको चक्रमा फसाएको भन्दै त्यसबाट पाठ सिक्नुपर्ने बताएका छन्। आगामी दिनमा नेपालले कुशल कूटनीतिमार्फत दुवै छिमेकीबाट विकासका अवसर हासिल गर्नुपर्ने उनको धारणा छ।












