काठमाडौं :- नुवाकोटमा भदौ १० गते आएको भीषण बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहान ७ बजेसम्म बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना अझै बेपत्ता छन्।
प्रशासनका अनुसार फेला परेका ५१ वटै शवको हालसम्म पहिचान हुन सकेको छैन। बाढीमा ४० जना घाइते भएका छन्। बेपत्ताको विवरण आफन्त तथा परिवारजनले दिएको सूचनाका आधारमा तयार गरिएको हो।
बाढीबाट विदुर, बेलकोटगढी, तारकेश्वर र किस्पाङका विभिन्न क्षेत्र प्रभावित भएका छन्। करिब ७०० देखि ८०० निजी घरमा क्षति पुगेको प्रारम्भिक अनुमान छ।
बाढीले सरकारी तथा निजी संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। आठ सरकारी कार्यालय, कृषि विकास बैंक, तीन जलविद्युत् गृह र चार विद्यालयमा क्षति पुगेको छ। त्यस्तै १५ पक्की पुल र नौ झोलुङ्गे पुलमा क्षति पुगेको प्रशासनले जनाएको छ।
सडक संरचनामा क्षति पुगेपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। यसले राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्याउन थप कठिनाइ भएको छ।
कारागारको संरचनामा क्षति भए पनि त्यहाँ रहेका कैदीबन्दी सुरक्षित रहेको प्रशासनले जनाएको छ। हालसम्म १ हजार ९०८ जनाको उद्धार गरिएको छ, जसमा १ हजार ८२३ जनालाई हेलिकप्टर र ८५ जनालाई स्थलमार्गबाट उद्धार गरिएको हो।
बाढी प्रभावित ७९१ जनालाई विभिन्न आश्रयस्थलमा व्यवस्थापन गरिएको छ। प्रशासनले जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।












