काठमाडौं :- कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताएकी छन्।
अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन जानुअघि मन्त्रालयमा विज्ञहरूसँग भएको छलफलमा उनले जलवायु परिवर्तनबाट नेपालले बेहोरेको क्षति र जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको अधिकार र दाबीका रूपमा प्रस्तुत गर्नुपर्ने बताइन्।
नेपाल सगरमाथासहित विश्वका महत्वपूर्ण हिमाली क्षेत्रको देश भएकाले हिमाली मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्नेमा उनले जोड दिइन्। जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्न नसकेसम्म जलवायु संकटबाट हुने क्षतिलाई राष्ट्रिय प्राथमिकतामा राख्न कठिन हुने उनको भनाइ थियो।
मन्त्री चौधरीले जलवायु परिवर्तनसम्बन्धी कामलाई सम्मेलन र सीमित कार्यक्रमहरूमा मात्र केन्द्रित गर्न नहुने बताइन्। यसका लागि सरकारसँगै नागरिक समाज, विज्ञ, सञ्चारमाध्यम र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन्।
छलफलमा भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति दाबीका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्नुपर्ने पहलका विषयमा समेत विज्ञहरूसँग सुझाव लिइएको थियो।












