काठमाडौ :- टिजरमार्फत दर्शकमाझ राम्रो चर्चा कमाउन सफल चलचित्र ‘पारी बुटवल’ अब आफ्नो बाँकी छायांकनका लागि पूर्ण रूपमा तयार भएको छ।
बुटवलमा हुने भनिएको फिल्मको बाँकी छायांकनको तयारी तीव्र रूपमा अघि बढिरहेको चलचित्रका लाइन प्रोड्युसर अभिषेक राज सिंह थापाले जानकारी दिएका छन्।
चलचित्रमा समावेश गरिएको एक आकर्षक आइटम गीतले पनि दर्शकमाझ थप उत्सुकता जगाउने अपेक्षा गरिएको छ। उक्त गीतमा बबिता धितालको नृत्य, निकेश आचार्यको संगीत तथा चर्चित गीत ‘लालिवजारको मायालाई के दिउँ बहिनी’ की गायिका दीपिका बयाम्बुको स्वर रहनेछ।
पाथीभरा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता ल्याक्सी श्रेष्ठ, मनिषा अधिकारी र सुदेश ढुंगाना रहेका छन्। चलचित्रको निर्देशन गणेश देव पाण्डेले गरेका छन्।
चलचित्रमा अनुप बराल, दिया मास्के, दिव्य देव, कामेश्वर चौरासिया, प्रशान्त ढकाल, सुशिल सिटौला, सुदीप खतिवडा, किरण श्रेष्ठ, पुष्कर कार्की र मोनिका थापालगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
यसै चलचित्रमार्फत कवि क्षेत्र प्रताप अधिकारीका नाती अबेरल प्रताप अधिकारीले नायकका रूपमा रजतपटमा डेब्यु गर्दैछन्। लामो समयदेखि नाटक तथा चलचित्र अध्ययन गर्दै आएका अबेरलले ‘पारी बुटवल’बाट आफ्नो अभिनय यात्रा सुरु गर्न लागेका हुन्।
निर्देशक तथा निर्माण टिमले चलचित्रलाई आगामी तिहारको आसपासमा प्रदर्शन गर्ने तयारी गरिरहेको जनाएको छ। बाँकी छायांकन पूरा भएसँगै चलचित्रको प्रचार–प्रसारलाई थप तीव्र बनाउने निर्माण पक्षको तयारी छ।
दर्शकमाझ प्रारम्भिक चरणमै चर्चा बटुल्न सफल ‘पारी बुटवल’ले प्रदर्शनसँगै नेपाली चलचित्र क्षेत्रमा नयाँ स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।












