चितवन :- पृथ्वी राजमार्गको कृष्णभीरमा निर्माण गरिएको नयाँ ट्र्याकलाई सञ्चालनयोग्य बनाउने काम तीव्र पारिएको छ। आजदेखि ट्र्याकमा ग्राभेल बिछ्याउने काम सुरु गरिएको छ।
सडक फराकिलो बनाउने तथा सतह मिलाउने काम सम्पन्न गर्दै ग्राभेल राख्न थालिएको नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले बताए। उनका अनुसार निर्माण कार्य दुवैतर्फबाट तीव्र गतिमा भइरहेको छ।
भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको फेद कटान गरेपछि सडक भासिएसँगै पहाड काटेर नयाँ ट्र्याक निर्माण थालिएको थियो। सडक केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी ठूलो संख्यामा उपकरण र कामदार परिचालन गरिएको छ।












