काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टीले बाढी प्रभावित क्षेत्रमा सांसद तथा नेताहरूको अनावश्यक आवतजावत रोक्न निर्देशन दिएको छ।
विपद् प्रभावित क्षेत्रमा पुगेर केही नेता तथा सांसदहरूले खिचेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पार्टीको आलोचना भएको थियो। यही विषयलाई लिएर सभापति रवि लामिछानेले आज पार्टीको शीर्ष नेतृत्वसँगको छलफलमा चासो व्यक्त गरेका थिए।
पार्टीका तर्फबाट भइरहेका राहत, उद्धार तथा समन्वयका कामबारे ब्रिफिङ लिएपछि लामिछानेले अत्यावश्यक कामबाहेक प्रभावित क्षेत्रमा नजान निर्देशन दिएका हुन्।
सचेतक क्रान्तिशिखा धितालले पनि विपद् प्रभावित क्षेत्रका सांसदहरूलाई मात्र आवश्यकता अनुसार सम्बन्धित स्थानमा पुग्न भनेकी छन्। बाँकी सांसदहरूले आफ्नो ठाउँबाटै राहत तथा सहयोगका लागि समन्वय गर्नुपर्ने उनको भनाइ छ।
साथै, विपद्का दृश्य खिच्ने र त्यसलाई फोटो वा भिडियोका रूपमा सामाजिक सञ्जालमा राख्ने गतिविधि नगर्न सांसदहरूलाई विशेष रूपमा आग्रह गरिएको छ।












