काठमाडौं :- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनाले आफूलाई स्तब्ध र आक्रोशित बनाएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले यस्ता जघन्य अपराध कुनै पनि सभ्य र संवेदनशील समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्।
उनले गरिमामाथिको अपराध केवल एउटा परिवारमाथिको पीडा नभई राज्य, समाज र न्याय प्रणालीमाथिकै गम्भीर प्रश्न भएको उल्लेख गरेका छन्।
गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रचण्डले हाम्रा छोरीहरूले भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको बताएका छन्।












