पोखरा :- पोखरा–१० बुद्धचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी–५ का २५ वर्षीय नवराज दर्जी रहेका छन्। बुधबार दिउँसो १२ः५० बजे पृथ्वी राजमार्गअन्तर्गत पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दर्जीलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि चिकित्सकले दिउँसो २ः२२ बजे मृत घोषणा गरेका थिए।
प्रहरीले ट्रक र चालक सिन्धुलीको कमलामाई–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।












