
काठमाडौँ :- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शवलाई सम्बन्धित ठेगानासम्म पुर्याउन लाग्ने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलका अनुसार यसका लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराइनेछ।
उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव घरसम्म लैजान सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्न उनले आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले हवाई उद्धारलाई तीव्रता दिएका छन्।
घाइते तथा जोखिमपूर्ण स्थानमा फसेका व्यक्तिलाई प्राथमिकतामा राखेर उद्धार भइरहेको मन्त्री पौडेलले जानकारी दिए। उद्धारको प्रतीक्षामा रहेकालाई स्थानीय तहको समन्वयमा खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराइने पनि उनले बताए।
यस्तै, मुख्यमन्त्री किरण थापामगरले गोसाईंकुण्ड क्षेत्रमा रहेका एक हजार ५०० भन्दा बढी तीर्थयात्रीलाई सुरक्षित फर्काउन आवश्यक सवारीसाधनको व्यवस्था गरी सम्बन्धित निकाय परिचालन गरिएको जानकारी दिएका छन्।
वाग्मती प्रदेश सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका लागि तत्काल उद्धार तथा राहतमा ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
रसुवा र नुवाकोटका विपद् व्यवस्थापन कोषमा २ करोड रुपैयाँ तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ उपलब्ध गराइने प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले बताए।
जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
प्रभावितको उद्धार, राहत वितरण, शव व्यवस्थापन र अवरुद्ध सडक सञ्चालनलाई तत्काल प्राथमिकता दिइएको मन्त्री केसीले बताए।
प्रदेश सरकारले बाढीमा परी मृत्यु भएकाका परिवारलाई अन्त्येष्टिका लागि २५ हजार रुपैयाँ राहत दिने निर्णयसमेत गरेको छ।
घरबारविहीन नागरिकका लागि अस्थायी बसोबास र भोजनको व्यवस्था गरिएको छ भने अलपत्र यात्रुको उद्धारका लागि निःशुल्क बस सञ्चालन गरिएको छ।
अवरुद्ध वैकल्पिक सडक सफा गरी यातायात सञ्चालनमा ल्याउने तथा आवश्यक स्थानमा बेलिब्रिज र झोलुंगे पुल निर्माणको प्रक्रिया अघि बढाइएको मन्त्री केसीले जानकारी दिए।











