काठमाडौं :- रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई चीन सरकारले २० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ।
आइतबार नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। यो रकम करिब ३० करोड नेपाली रुपैयाँ बराबर हो।
यसैगरी, चिनियाँ रेडक्रसका तर्फबाट २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको सहयोगसमेत हस्तान्तरण गरिएको छ।
सो अवसरमा राजदूत झाङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले भोटेकोशी बाढीमा ज्यान गुमाएका नेपालीप्रति गहिरो दुःख व्यक्त गरेको जानकारी दिए। उनले विपद्को यस घडीमा नेपाल एक्लै नरहेको र चीन नेपाल तथा नेपाली जनताको साथमा रहेको सन्देश पनि सुनाए।












