काठमाडौँ :- एसीसी प्रिमियर कपको समूह चरणमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। हङकङले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २४६ रनमा समेटिएको हो।
नेपालका इशान पान्डेले ९० रनको महत्वपूर्ण योगदान दिए। त्यसबाहेक आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुल्शन झाले २० रन बनाए।
हङकङका लागि एइजाज खानले चार विकेट लिए। यासिम मुर्तजाले दुई तथा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले एक–एक विकेट लिए।
यसअघि बाबर हायातले ११७ रनको अविजित शतकीय पारी खेलेपछि हङकङले ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो। १३३ रनमा सात विकेट गुमाएको हङकङलाई बाबर र एहसान खानको १२८ रनको अविजित साझेदारीले प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याएको थियो।
नेपालका कप्तान सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए। हङकङसँगै नेपाल पनि सेमिफाइनलमा पुगेको छ।












