काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनसम्बन्धी विधेयकको मस्यौदामा सुझाव माग गरेको छ। मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधनका लागि तयार गरिएको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालादेखि सर्वसाधारणसम्मलाई प्रतिक्रिया दिन आग्रह गरेको हो।
कानुनलाई अझ प्रभावकारी, व्यवहारिक र समयानुकूल बनाउन नयाँ व्यवस्थाहरू समेटिएको जनाउँदै मन्त्रालयले सबैको सहभागिता सुनिश्चित गर्न चाहेको बताएको छ। इच्छुक व्यक्तिले यही साताभित्र आफ्नो सुझाव उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।
प्राप्त राय–सुझावका आधारमा मस्यौदालाई परिमार्जन गरी अन्तिम रूप दिइने मन्त्रालयको योजना छ।




