काठमाडौँ :- नेपालमा विद्युत् उत्पादनले उल्लेखनीय फड्को मारेसँगै गाउँदेखि सहरसम्मका नागरिकको जीवनशैलीमा ठूला परिवर्तन देखिएका छन्। विशेषगरी ग्रामीण क्षेत्रमा बिजुलीको पहुँचले महिलाको दैनिकी सहज बनाएको छ।
कैलालीको जानकी गाउँपालिकामा विसं २०६० सालपछि मात्रै बिजुली पुगेको हो। त्यसअघि महिलाहरू ढिकी–जाँतो प्रयोग गरेर धान कुट्ने र पिठो पिस्ने गर्थे। बिजुली आएपछि गाउँमै मिल सञ्चालन हुन थालेसँगै महिलाको श्रम घटेको र समय बचत भएको स्थानीय सिता चौधरी बताउनुहुन्छ। अहिले गाउँमा कपडा धुने मेशिन, फ्रिज र सिँचाइका विद्युतीय उपकरणसमेत प्रयोगमा आएका छन्।
यस्तै परिवर्तन मकवानपुरको हर्नामाडीमा पनि देखिएको छ। विसं २०४५ सालमा बिजुली पुगेपछि यहाँका महिलाको कठोर श्रममा ठूलो कमी आएको छ। ढिकी–जाँतो र घट्टको ठाउँ आधुनिक विद्युतीय उपकरणले लिएका छन्। यसले महिलालाई परिवार र शिक्षामा समय दिन सक्ने अवस्था सिर्जना गरेको ६० वर्षीया शशी खतिवडा बताउनुहुन्छ।
नेपालमा विसं १९६८ सालमा फर्पिङ लघु जलविद्युत आयोजनाबाट ५ सय किलोवाट उत्पादन सुरु भएको विद्युत् क्षेत्र हाल करिब ३ हजार ८ सय मेगावाट उत्पादन क्षमतामा पुगेको छ। दुई दशकअघि दैनिक ६ सय ९७ मेगावाट उत्पादन हुने नेपालमा हाल ८२ प्रतिशत विद्युत् निजी क्षेत्रबाट उत्पादन भइरहेको छ।
हाल निजी क्षेत्रका २१४ र सरकारी १८ वटा विद्युत् आयोजना सञ्चालनमा छन् भने थप ५ हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन्। नेपालले हाल भारतलाई करिब १ हजार मेगावाट र बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ।
सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। साथै प्रति व्यक्ति विद्युत् खपत ४ सय युनिटबाट १ हजार ५ सय युनिट पुर्याउने योजना रहेको उर्जा मन्त्री कुलमान घिसिङले बताएका छन्। विद्युत् उत्पादन वृद्धिसँगै उद्योग, कृषि र विद्युतीय सवारी साधनमार्फत आन्तरिक खपत बढाउने सरकारी नीति छ।
विद्युत् उत्पादनको तीव्र विकासले औद्योगिक क्षेत्रलाई समेत मजबुत बनाएको निजी क्षेत्रको भनाइ छ। उद्योग विभागका अनुसार नेपालमा हाल १० हजारभन्दा बढी उद्योग दर्ता भई करिब १० लाखले रोजगारी पाएका छन्।



