काठमाडौँ :- आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरी अनुसन्धानका अनुसार उनीहरूले क्रोएशिया, स्वीटजरल्यान्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणबाट ठूलो रकम असुलेका थिए।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।




