काठमाडौँ :- उपराष्ट्रपति रामसहायप्रसाद यादव र कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङबीच बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।
उपराष्ट्रपतिको कार्यालयका अनुसार भेटका क्रममा नेपालको संविधानले तोकेका जिम्मेवारी, सङ्घीयता सुदृढीकरण, सङ्घ–प्रदेश समन्वय तथा आपसी सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो।
उपराष्ट्रपति यादवले प्रदेशप्रमुख खापुङलाई स्वागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ र प्रदेशबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए।
प्रदेशप्रमुख खापुङले सङ्घीयता कार्यान्वयनप्रति प्रदेशको प्रतिबद्धता दोहोर्याउँदै राष्ट्रिय एकता, समावेशिता र संविधानको भावना अनुरूप प्रदेश सरकारको भूमिका तथा प्रयासबारे जानकारी गराएका थिए।




