काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख तथा तनहुँ क्षेत्र नम्बर–२ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।
रास्वपा तनहुँ जिल्ला समितिको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताको ठूलो अपेक्षा र भरोसा पार्टीमाथि रहेकाले त्यसलाई पूरा गर्नुपर्ने दायित्व रहेको बताए।
न्यौपानेले विगतका सरकारहरू आन्तरिक द्वन्द्वकै कारण अपदस्थ भएको उल्लेख गर्दै वर्तमान राजनीतिक शक्तिहरू पनि आफ्नै आन्तरिक कमजोरीबाट चुनौतीमा पर्ने गरेको टिप्पणी गरे। उनले पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
उनका अनुसार देश परिवर्तनको संकल्प बोकेर अघि बढेको रास्वपालाई बलियो शक्तिका रूपमा विकास गर्न सबै तहका कार्यकर्ताले साझा उद्देश्यका साथ काम गर्नुपर्ने आवश्यकता छ।
त्यसैगरी, उनले विगत निर्वाचनमा करिब ५२ लाख मत प्राप्त भएको उल्लेख गर्दै जनताको विश्वासलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए।
कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि संगठन सुदृढीकरण, एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।




