काठमाडौँ :- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक र देखिने सुधार ल्याउन आफ्नो नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरू, साथै काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान परिस्थितिको गम्भीरता र सरकारमाथि आएको जिम्मेवारीबारे आफूहरू पूर्ण रूपमा सचेत रहेको बताए।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे।
प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य र राजनीतिक स्थिरताप्रति सरकार दृढ रहेको उल्लेख गर्दै भने, “नयाँ सरकार हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति स्पष्ट, स्थिर र अनुमानयोग्य रहने सुनिश्चित गरिनेछ।”
उनले समावेशी आर्थिक वृद्धि, सुशासन र जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए। लगानी आकर्षित गर्न प्रक्रियालाई सहज बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा दिगो विकासलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने उल्लेख गर्दै छिमेकी, विकास साझेदार र मित्रराष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिमा आधारित रहने बताए।
उनले नेपालको विकास यात्रामा साथ दिँदै आएका सबै मित्रराष्ट्र र विकास साझेदारप्रति आभार व्यक्त गर्दै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु तथा पर्यटनलगायत क्षेत्रमा सहकार्य थप विस्तार गर्न नेपाल तयार रहेको बताए।
विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले शान्ति स्थापना गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
भेटमा सहभागी इयू तथा अन्य मुलुकका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए। उनीहरूले आर्थिक विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी गर्न इच्छुक रहेको पनि बताएका थिए।




