काठमाडौँ :- पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको प्रतिनिधिसभामा व्यक्त भनिएको अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई गम्भीर, दुःखद, गलत र राष्ट्रहितविपरीत भएको बताएका छन्।
उनले नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै राष्ट्रिय सार्वभौमिकता र भूभागसँग सम्बन्धित विषयलाई सामान्यीकरण गर्ने कुनै पनि अभिव्यक्ति उचित नहुने धारणा राखेका छन्।
खनालले प्रधानमन्त्रीले यस्तो टिप्पणी कुन तथ्य, प्रमाण र दस्ताबेजका आधारमा गरेका हुन् भन्ने प्रश्न पनि उठाएका छन्। उनका अनुसार उक्त अभिव्यक्तिले देशभित्र तथा विदेशमा रहेका नेपालीहरूको देशभक्तिपूर्ण भावनामाथि आघात पुर्याएको छ।
प्रधानमन्त्रीको भूमिकामा रहेका व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु उपयुक्त नभएको टिप्पणी गर्दै खनालले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।




