काठमाडौँ :- सरकारले इन्टरनेट सेवासहित २५ वटा अत्यावश्यक क्षेत्रमा बन्द तथा हड्ताल गर्न निषेध गरेको छ। यस सम्बन्धी गृह मन्त्रालयको सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सरकारले उक्त निर्णय गरेको हो। सूचनाअनुसार सञ्चार, इन्टरनेट सेवा, बैंकिङ, बीमा, विद्युत्, भेटेरिनरी सेवा, राहदानी विभाग तथा कन्सुलर सेवा विभागलगायतका क्षेत्रमा हड्ताल गर्न पाइने छैन।
यस्तै, जल, स्थल र हवाईमार्गबाट यात्रु तथा मालसामान ओसारपसार गर्ने सेवाहरूलाई पनि अत्यावश्यक सेवाको सूचीमा राख्दै बन्द–हड्ताल निषेध गरिएको छ।
सरकारले नागरिकलाई प्रत्यक्ष असर पर्ने सेवाहरू नियमित र अवरुद्धरहित रूपमा सञ्चालन सुनिश्चित गर्न यस्तो निर्णय गरेको जनाएको छ।






