काठमाडौँ :- प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र चरम मूल्यवृद्धिको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित सरोकारवालासँगको छलफलपछि समितिले पूर्वाधार निर्माणलाई सहज बनाउन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको हो।
समितिका सभापति आशिष गजुरेलले बैठकको निर्णय सार्वजनिक गर्दै समस्यामा परेका सार्वजनिक पूर्वाधार आयोजनाहरूको तत्काल पहिचान गरी नागरिकलाई राहत पुग्ने गरी काम गर्न निर्देशन दिइएको जानकारी दिए।
बैठकमा निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि, विशेषगरी इन्धन र बिटुमिनजस्ता अत्यावश्यक सामग्रीको मूल्य वृद्धि गम्भीर रूपमा उठेको थियो। ती सामग्रीको मूल्य बढेपछि धेरै निर्माण कार्य प्रभावित भएको र परियोजनाहरू रोकिएको विषयमा छलफल भएको उनले बताए।
सभापति गजुरेलका अनुसार निर्माण व्यवसायीहरूले बढ्दो लागतका कारण काम अघि बढाउन नसकेको र यसले राष्ट्रिय विकास तथा अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने जोखिम देखिएकाले तत्काल समाधान खोज्न सरकारलाई निर्देशन दिइएको हो।




