काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको कामना गर्दै शुभकामना सन्देश जारी गरेका छन्।
सन्देशमा राष्ट्रपति पौडेलले नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक लगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने राष्ट्रिय सङ्कल्प रहेको पनि स्मरण गराएका छन्।
राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भनेका छन्, “यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ।”
उनले जातीय विभेदलाई सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भन्दै सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोग अभिवृद्धि गर्न आग्रह गरेका छन्।
साथै, उनले समतासहितको राष्ट्रिय एकता सुदृढ गर्न तथा जातीय छुवाछूत र विभेदको विरुद्ध दृढतापूर्वक उभिन सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई आह्वान गरेका छन्।




