काठमाडौँ :- सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नामा प्रहरीले भन्सार छली गरेर ल्याइएको करिब रु ५ लाख ५० हजार बराबरको ३६८ वटा चौँरीको पुच्छरसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार उत्तरी नाका किमाथाङ्काबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका चौँरीका पुच्छरहरू कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हेदाङ्ना चेकपोस्टमा जाँचका क्रममा फेला परेका हुन्।
भोटखोला गाउँपालिका–स्थित हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १२१७ नम्बरको ट्याक्टर जाँच गर्दा उक्त परिमाणमा चौँरीका पुच्छर बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा चिचिला गाउँपालिका–१ का २० वर्षीय चालक दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद सामग्री कसको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको चौँरीको पुच्छर किमाथाङ्का भन्सार कार्यालय, खाँदबारीमा बुझाइएको छ भने इलाका प्रहरी कार्यालय हेदाङ्नाले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।




